डागेश्वरी मन्दिर

डागेश्वरी मन्दिर डडेल्धुरा जिल्ला देवलदिव्यपुर गा.वि.स. वडा नं. ३ कानाकोटमा पर्दछ । स्थानीयहरुको भनाई अनुसार नागी मल्लले लगभग वि.सं. १४४४ तिर यस मन्दिरको स्थापना गरेका थिए । यो स्थल डडेलधुरा जिल्लाको सदरमुकाम अमरगढी बाट पश्चिम दिशामा पर्दछ र त्यहाँबाट २६ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट १ः३० घण्टा र पैदल ३ घण्टा समय लाग्दछ । यस स्थलमा पुग्ने बाटोको प्रकृति लगभग ५ कि.मि.सम्म पिच र त्यस पछि ग्राभेल छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो बागबजार–वगरकोट–टोटागाउँ–निलाली– देवलबजार–काराकोटी–डागेश्वरी मन्दिर हो । यस स्थानमा आउन सकिने अन्य बैकल्पिक बाटो बागबजार–अजयमेरुकोट–भद्रपुर–चिपुर–घाटी–गुवाडी–डागेश्वरी हो । यो बाहेक यस स्थानमा आउन सकिने अन्य बैकल्पिक बाटो छैन । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हुँदै ५ घण्टा लाग्छ । यहाँको मौसम सामान्यतया चिसो छ । यो मन्दिर शिव देवताको लागि प्रसिद्ध छ । मानिसहरु पुजापाठ गर्न, मनले सोचेको कुरा पुरा होस भन्ने मनोकांक्षाले र सुख शान्तिका लागि यहाँ आउँदछन् । यो स्थान दशैं तिहारमा जात्राको लागि प्रसिद्ध छ । यस जात्रामा दशैंमा देवता पुज्ने, तिहारको अन्तिम दिन आगो पार्ने काम गरिन्छ । आगो पर्यो भने जात्रा हुने नत्र नहुने चलन छ । आगो परेको दिन देखि १६ दिन सम्म जात्रा लाग्ने गर्दछ ।

देवलबजारबाट दिनमा देउडो लैजाने र त्यस देउडोलाई राती बाजागाजाका साथ स्वागत गर्ने गरिन्छ । मानिसहरुले बैशाख, असोज, कात्तिक र मंसिर महिनामा यस स्थानको बढी भ्रमण गर्दछन ।दैनिक १०– १२ जना, र जात्राको बेला ३०–४० हजार जति मानिसको यहाँ उपस्थित हुन्छ । यस स्थलमा बार्षिक सरदर ५० हजार मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु सुदुर पश्चिमका सबै जसो जिल्लाहरुबाट, तराईका जिल्लाहरुबाट र भारतबाट समेत आउँदछन् । यस स्थलको (मन्दिर) को खास विशेषताहरु भनेको चारैतिर देवदियारको बोट भएको, गजुर नभएको मन्दिर रहेको, बलिदिन नमिल्ने मन्दिर भएको, शुद्ध जल मात्र चढाउने मन्दिर हुन ।