निङलाशैनी भगवती मन्दिर

निङलाशैनी भगवती मन्दिर बैतडी जिल्ला देहीमाँडौ गा.वि.स. वडा नं. ६ देहीमाडौमा अवस्थिति छ । यो मन्दिर शाके सम्वत १३०९ (वि.स. १८८८)को अभिलेखले त्यो भन्दा पहिले नैस्थापना भएको प्रमाणित हुन्छ । यो स्थल बैतडी जिल्लाको सदरमुकाम बैतडी बाट पूर्व दिशामा पर्दछ र त्यहाँबाट १५ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँआउन गाडीबाट २० मिनेट र पैदल ४५ मिनेट समय लाग्दछ । यो सडकको बाटोको प्रकृति पिच छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो गोठालोपानी, ससिलेक, देला, देहिमाडौ, निङलाशैली हो । यस स्थानमा आउन सकिने अन्य बैकल्पिक बाटो छेलबाट जगन्नाथ मन्दिर हुदै निङलाशैली रहेको छ । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हुदै १० घण्टा लाग्छ । यहाँको मौसम सामान्य तया चिसो छ । यो धार्मिक स्थल निङलाशैली नवदुर्गा जगदम्बा भगवतीको लागि प्रसिद्ध छ । यहाँ तिर्थयात्रीहरु पुजा पाठको लागि, जात्रा हेर्नको लागि र सन्तान प्राप्त हेतु आउँछन् । यो स्थान मंसिरको जामन जात्रा, भाद्र जात्रा र चैत्र जात्रा को लागि प्रसिद्ध छ । यहाँ मंसिर चैत्र र भाद्र महिनाको पूर्णिमा तिथिमा जात्रा लाग्दछ । जामना जात्रामा निङलाशैली माताको सम्पति देखाई मन्दिर परिसरमा नचाउने गरिन्छ । यस अवसरमा सदरमुकामबाट तहाँका ठकुरीहरु र पाटनको ठकुरीहरुले जात्रा ल्याउने गर्दछन् । त्यो जात्रामा उनीहरु घोडामा चढी वाजा गााजा सहित आउँछन् । अन्य मेलामा सामन्य पूजा पाठ हुन्छ । मानिसहरुले यस स्थानको असोज, कात्र्तिक र मंसिर महिनामा बढी भ्रमण गर्दछन् । यस महिनामा दैनिक ५०/६० जना र जात्राको बेला १०/१५ हजार जना मानिस भेला हुन्छन । यस स्थलमा बार्षिक सरदर ३०/४० हजार मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु नेपालमा सबै जस्तो जिल्लाबाट र भारतबाट पनि आउछन् । यस स्थलको (मन्दिर) को खास विशेषताहरुमा यो मन्दिर बैतडी जिल्लामा रहेका सप्तमातृका मध्ये प्रमुख मानिन्छ र यस मन्दिरको दक्षिणतर्फको पर्खाल भित्र १४/१५ औ शताब्दीतिरको विष्णुको सुन्दर मूर्ति रहेको छ ।