वैद्यनाथ धाम अछाम जिल्लाको बैद्यनाथ गा.वि.स. वडा नं. २ को दोभान टोलमा पर्दछ । स्थानिय बुद्धिजिवीहरुको भनाई अनुसार यसको स्थापना बाह्रौ शताब्दीतिर भएको हो र वि. स. १८८१ मा मन्दिरको जिर्णोदार गरीएको हो । यो स्थल अछाम जिल्लाको सदरमुकाम मंगलसेनबाट ४५ कि.मि. उत्तर पश्चिम दिशामा पर्दछ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट १ घण्टा र पैदल मार्गबाट ३ –४ घण्टा समय लाग्दछ । यस स्थलमा पुग्न सकिने सडकको बाटोको प्रकृति मगलसेन देखि साँफे बगरसम्म करिब ४२ कि.मी पिच, साँफे वगरको हाट बजार प्रहरी चौकी अगाडी मिलन चौकबाट ३ कि.मी. कच्ची बाटो छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो मगलसेनबाट तिमिल्सेन गाँउ, जयगढ, बयलपाटा, साँफे हाट बजार मिलन चौक हुँदै जलपादेवी, पिपलतोला, गाठ खोला तरेर वैद्यनाथ धाम पुगिन्छ । यस स्थानमा आउन सकिने अन्य बैकल्पिक बाटोहरु यस प्रकार छ । मंगलसेनबाट तिमिल्सेन–जयगढ– बयलपाटा–साँफे पुल (मंगलसेन बाट आउँदा) कमले गाँउ झोलुङ्गे पुल तरेर धाम पुगिन्छ । साँफेबाट करिब २.५ कि.मी.गोरेटो बाटो रहेको छ । अर्को बाटो मंगलसेन –जिमडाडी–रिडिकोट गा.वि.स. बुढी गँगा हुँदै झोलुङ्गेपुल तरेर वैदनाथ धाम पुगिन्छ । यो बाटो पैदल ३ देखि ४ घण्टा लाग्ने गर्दछ । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अतरियाबाट महाकाली राजमार्ग र त्यहाँबाट डा.के.आई.सिंह राजमार्ग त्यस पछि स्याउले सम्म सेती राजमार्गबाट सिलगढी साँफेबजार राजमार्ग हँुदै पुगीन्छ । यसको लम्बाई ३०१ कि.मी. रहेको छ र यसको लागि करिव ९(१० घण्टा लाग्दछ । यहाँको मौसम सामान्यतया चिसो छ । यो धार्मिक स्थल शिव लिङ्गको लागि प्रसिद्ध छ । मन्दिरमा तामाले मोडिएको शिवलिङ्ग र अन्य २ मुर्ति हरु छन् । परिसर भित्र आकश भैरव, बटुक भैरव, काल भैरव, गोरखनाथ आदि को मुर्ति छन् । यो धाम ४ धाम मध्येको एउटा भएकोले यसको दर्शन नगरी ४ धामको तिर्थ यात्रा पुरा नहुने विश्वास गरिन्छ । आस्था भक्तिभावको कारणले, मनोकाक्षा पुरा हुने र परिवारको स्वास्थ्य राम्रो हुने विश्वासले मानिसहरु यसको दर्शन गर्न आउँदछन । यो स्थान शिवरात्रीमा लाग्ने शिव मेला, माघि मेला र होली जात्राको लागि प्रसिद्ध छ । यहाँ बैशाख महिनाको १ गते, विशुवत संक्रान्ति, मकर सक्रान्तिमा र शिवरात्रीमा मेला लाग्दछ ।
यस जात्रामा देउडा खेल खेल्ने, पुजा भजन गाँउदै रात भरी जाग्राम बस्ने, शिवरात्रिमा शिव लिङ्गको पुजा गर्ने, मन लागेको वस्तु चढाउने , विभिन्न खेलहरु खेल्ने, नाँच्ने गरिन्छ । मकर संकान्तिको दिन अछाम जिल्लाका महत्वपुर्ण संस्कृति कलाहरु देखाउने जस्तै (भारत वँशावलि गाउने ) न्याउले (सुदुरपश्चिमका आफ्नै मौलिक भाकाका गितहरु) गाउन,े देउडा, भारीखेल, चाँचरी (रोपाईमा गाईने गितहरु) ज्यूनापुखेर खेल (एकै किसिमका लुगाा लगाएर) मौलिक भाषामा गित गाउने गरिन्छ । केटीहरुले पुतलाको दुलाहा दुलही बनाएर आफ्नो दुख पिड पोखिने गित गाउने, नाच्ने गर्दछन् । होरी खेल फागुपुर्णीमामा मनाइने गरिन्छ । रंग खेल्दै खेलिने होलीलाई यहाँ होरीखेल भनिन्छ । उक्त समयमा करिव १२ –१५ हजार जना मानिस यहां जम्मा हुन्छन । यस स्थलमा बार्षिक सरदर १ लाख ५० हजार देखि १ लाख ८० हजार जति मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु आसपासका जिल्लाहरु र अछाम, बाजुरा, बझाङ्ग, डोटी र भारत देखि श्रद्धालु, भक्तजनहरु पनि आउने गर्दछन् । यस स्थलको (मन्दिर) को खास विशेषताहरु निम्न छन् । यस मन्दिरको छानो तामाको हो । यस मन्दिरको पुरानो नाप १० ह १० फिट आकारको १८ फिट अग्लो छ । हालको नाप २४ह२४ फिट आकारको ७५ फिट अग्लो छ । मन्दिरको पुजा संचालनको लागि ४४५ मुरी माटो को खेत गुठिको रुपमा रहेको छ ।