परिचय

कूल  १९,५३९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस सुदुर पश्चिम विकास क्षेत्र नेपालको पश्चिम दक्षिण दिशामा अवस्थित रहेको छ । भारत र चीन दुवै देशसँग भौगौलिक सिमाना जोडिएको यस क्षेत्र पहाडी क्षेत्रदेखि तराई क्षेत्रसम्म फैलिएको छ । यस विकास क्षेत्रभित्र सेती र महाकाली गरि दुई अञ्चल पर्दछन् । कूल  जनसंख्या २५,५२,५१७ मध्ये महिला १२,१७,८८७ र पुरुष १३,३४,६३० रहेका छन् भने जम्मा घरधुरी ४६९९७१ रहेको छ । कूल  ९ जिल्ला रहेको यस विकासक्षेत्रको मुख्य कार्यालय डोटी जिल्लाको दिपायलमा अवस्थित रहेको छ । भुगोलको हिसाबले विकासका लागि चुनौतिपूर्ण यस क्षेत्र अन्य विकासक्षेत्रको भन्दा निकै पछि रहेको छ । आधारभूत आवश्यकताको पहुँचबाट टाढा रहेको यस क्षेत्रका करिब ४६ प्रतिशत मानिसहरु गरिबीको रेखामुनी रहन बाध्य छन् । जटिल सामाजिक आर्थिक संरचनाको कारण लैंगिक तथा जातिय विभेद, सामाजिक कुरिती यहाँ रहेका छन् जसमध्ये छाउपडि प्रथा एक हो । यस्ता पुरातावादी धारणा, धार्मिक तथा सांस्कृतिक असमानता, रिती रिवाज, भौगोलिक बनावटहरुका नकारात्मक प्रभावनै यस क्षेत्रको समष्टिगत विकासका बाधक रहेका छने ।

इतिहास

तत्कालीन राजा विरेन्द्रले देशको सन्तुलित विकासका लागि वि.स.२०२९ सालमा नेपाललाई ४ विकास क्षेत्रमा विभाजन गरेका थिए । यिनिहरु निम्नानुसार रहेका थिए ।

१. पूर्वाञ्चल विकास क्षेत्र

२. मध्यमाञ्चल विकास क्षेत्र

३. पश्चिमाञ्चल विकास क्षेत्र

४. सुदुर पश्चिमाञ्चल विकास क्षेत्र

यसको आठ वर्ष पछि वि.स. २०३७ सालमा उनले तत्काल कायम रहेको सुदूर पश्चिम विकास क्षेत्रका २ अंचलहरुलाई समेटी (भेरी र कर्णाली) मध्यपश्चिमाञ्चल विकास क्षेत्र घोषणा गरे । यस पछि सुदुर पश्चिम विकास क्षेत्रमा जम्मा सेती र महाकाली अञ्चल रहन पुगे । यस क्षेत्रमा ९ जिल्लाहरु (कैलाली, कञ्चनपुर, अछाम, बाजुरा, बैतडी, बझाङ, डडेलधुरा, दार्चुला र डोटी) पर्दछन् । यस क्षेत्रको सदरमुकाम डोटी जिल्लाको दिपायलमा पर्दछ । यस क्षेत्रको क्षेत्रफल १९५३९ वर्ग कि.मी. र कुल जनसंख्या २,५५२,५१७ (राष्ट्रिय जनगणना २०११) रहेको छ । यस क्षेत्रको पहाडमा रहेका ४४ प्रतिशत र हिमालमा बसोबास गर्ने ४९ प्रतिशत मानिसहरु गरिवीको रेखामुनि छन् । यहाँ प्रमुख रुपमा डोटेली र कुमाउ भाषा बोलिन्छ । त्यसै गरि देउडा, झोडा, चेपली, छलिया, भडा आदि नृत्य गरिन्छ । गौरा पर्व यहाँको मुख्य चाड हो । डोटी जिल्ला १३ औ शताब्दीमा भारतको उत्तराखण्डको राजधानी थियो भन्ने कुरा इतिहासमा पाइन्छ । यस क्षेत्रका मुख्य शहरहरु धनगढी (कैलाली जिल्ला सदरमुकाम), महेन्द्रनगर (कंचनपुर जिल्ला सदरमुकाम), अमरगढी (डडेलधुरा जिल्ला सरमुकाम), सिलगडी (डोटी जिल्ला सदरमुकाम) हुन । तत्काल कायम रहेको सुदुर पश्चिमाञ्चल विकास क्षेत्रलाई नेपालको संविधान २०७२ अनुसार प्रदेश नं. ७ बनाइएको छ ।