बान्नी म मष्टा मन्दिर

बान्नी मष्टा मन्दिर, बझाङ्ग जिल्ला, व्यासी गा.वि.स., वडा नं. ५ को व्यासी टोलमा पर्दछ । स्थानिय जानकारहरुका अनुसार यस मन्दिरको स्थापना १५ औं शताव्दी तिर भएको हो । यो स्थल बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुरबाट पश्चिम तर्फ २२ कि.मि. टाढा छ । जिल्ला दरमुकामबाट यहाँ आउन गाडीबाट २ घण्टा ३० मिनेट र पैदल ८ घण्टा समय लाग्दछ । यस स्थलमा पुग्ने सडक बाटोको प्रकृति पिच, धुले र पैदल छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो चैनपुर (सदरमुकाम) तमैल, भाँडे, व्यासी, हुँदै मष्ट मन्दिर हो । यस स्थानमा आउन सकिने अन्य बैकल्पिक बाटो चैनपुर सदरमुकाम–नौरा –जय पृथ्वीनगर–कडेल–पाटागाँउ–बान्यचौर हुँदै मष्टा मन्दिर हो । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हँुदै १७ घण्टा लाग्छ । यहाँको मौसम सामान्यतया चिसो छ । यो धार्मिक स्थल मष्टा देवताको लागि प्रसिद्ध छ । यो स्थान बान्नी चैतेली जात्राको लागि पनि प्रसिद्ध छ सो जात्रा चैत महिनाको  अष्ठमी तिथिमा  लाग्दछ । यस जात्रामा (बान्नी चैतेली मेलामा) १३ दिन जात्रा र ४ दिन जात्रा पछिको भकुण्डे मेला लाग्दछ । मेलामा सुदूर पश्चिमका ९ वटै जिल्ला र देश विदेशका मानिसहरु समेत आउने गरेको पाईन्छ । हरेक वर्ष यस मन्दिरमा काठका ३ लिङ्ग, सुर्मा गाविसको जङ्गलबाट ल्याउने गरिन्छ यी तिन लिङ्गलाई देवर,  श्रीमती र  श्रीमानको नाम दिने चलन छ । ३ वटै लिङ्ग ३ जात मिलेर सुर्मा जङ्गलबाट  काटेर  ल्याउने गर्दछन् । देवरलाई रोकाया÷कठायत जात, श्रीमतीलाई धामी जातले र श्रीमानलाई बोहरा  जातीले ल्याउने चलन छ । देवर लिङ्ग लाई तोलनीय वस्ती, श्रीमतीलाई धामी  गाउँमा र  श्रीमानलाई देउमाजमा राखिन्छ । तोलनीय ठाउबाट देवरको लिङ्गलाई २०० मिटर घिसारेर माथिको खाली चौरमा बोकेर ल्याउछन् । त्यसैगरी धामी गाउँबाट श्रीमतीलाई  पनि  यस मैदानमा ल्याइन्छ र देवरको छेउमा ल्याएर राख्दछन् । त्यस पछि देवर र श्रीमतीको विवाह गरीने चलन छ । विवाहपछि देवरलाई मष्टा मन्दिर भित्र स्थापना गरिन्छ । देवर र श्रीमतिको यो विवाह झुक्याएर गरेको हुनाले श्रीमतिको लिङ्गलाई तल्लो देउमाज लगिन्छ र त्यहाँ श्रीमानको काठे लिङ्गसँग पूर्ण विवाह गराई दुबैलाई मष्टा मन्दिरमा देवरसँगै स्थापना गरिन्छ । यो जात्रा सकिने वितिकै भोली पल्ट भकुण्डे मेला ४ दिनसम्म लाग्दछ ।