बडीमालिका मन्दिर

बाजुरा जिल्लाको कैलाश माडौ गाँउ विकास समितिको वडा नं. ९ को मल्लागिरी पर्वतमा रहेको छ । बडीमालिकाको मुख्य मन्दिर वडा नं. ९ को मल्लगिरी पर्वतमा रहेको छ भने तल पुजारीहरु बस्ने पुजारी घर र सानो मन्दिर पनि रहेको छ जुन कैलाशमाडौं गा.वि.स.को वडा नं. ३ पैमा भन्ने स्थानमा रहेको छ । यस घरमा ४–५ जना पुजारीहरु बस्ने गर्दछन् । स्थानिय जानकारले उल्लेख गरे अनुरुप मन्दिर १५ औ शताव्दी भन्दा पहिले स्थापना भएको हो । यो स्थल वाजुरा जिल्ला सदरमुकाम मार्तडीबाट दक्षिण दिशामा पर्दछ र त्यहांबाट ५० कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीको बाटो नभएकोले पैदल हिड्नु पर्छ । यसको लागि १२–१३ घण्टा समय लाग्दछ । यो सडक बाटोको प्रकृति पैदल (गोरेटो) छ । जिल्लाको सदरमुकाम मार्तडीबाट फुलचडाउना–सोता–घोडा पाटन–कितोचिरना–त्रिवेणी (बुढी नन्दा) माइकामन्दिर–त्रिवेणी क्षेत्र–लैरी निवनायक चाननशंकर–बाशुधारा हुँदै यस बडीमालिका मन्दिरमा पुगिन्छ । यस स्थानमा आउन सकिने अन्य बैकल्पिक बाटो ब्रह्मटोला गा.वि.स.को बल्दे देखि पुजारी निवास (कैलाशमाडौंको पैमा) तथा नित्यपुजा हुने ठाउँ, त्यहाँबाट छुवा ढुङ्गाको ओडारमा बस्ने र त्यहाँबाट फूल चढाउने हुँदै बडीमालिका मन्दिर हो । डोटी जिल्लाको शैलेश्वरी, नाचनथली–काँडा चौकी टोल–बैद्यनाथधाम त्यहाँबाट भिनकोटसम्म पिच–अछामको दर्वा हुँदै बाजुराको छतारा गा.वि.स.को लवाढुंग्रा पाटन क्षेत्र हुँदै त्रिवेणी–लैरी विनायक चाननशंकर–वासुधारा हुँदै पनि बडीमालिका मन्दिर पुगिन्छ । उपरोक्त बाहेक यस स्थानमा आउन सकिने अन्य बैकल्पिक बाटो छैन । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अतरियाबाट महाकाली राजमार्ग– डा. के.आई. सिंह राजमार्ग –सेती राजमार्ग–सिलगढी साँफेबगर राजमार्ग–मध्यपहाडी राजमार्ग हुदै यात्रा गर्दा करीब १२ घण्टा जति लाग्छ । यहाँको मौसम सामान्यतया चिसो छ र यहां हिउँदमा हिँउ पर्दछ । यो धार्मिक स्थल बडीमालीका देवीको लागि प्रसिद्ध छ । यहाँ जनै पूर्णिमाको दिनमा ठूलो मेला लाग्ने भएकोले उक्त अवसरमा त्रिवेणी लौरी विनायकमा आफुलाई चाहेको कुरा चुनले चित्र बनाई मनले माग्ने र माथि मन्दिरमा पुगेर पुनः सोही मागेमा फल प्राप्ति हुने विश्वास गरिन्छ । यो स्थान जनै पुर्णिमामा हुने मेलाको लागि प्रसिद्ध छ । यो जात्रा भाद्र महिना जनै पूर्णिमाको द्वादशी, त्रयोदशी, चतुर्दशीे तिथिमा समेत गरी तिन दिनसम्म लाग्दछ । यस जात्रामा होम, यज्ञ, वेद पाठ, रुद्री पाठ भजन किर्तन वाचन गर्ने गरिन्छ । जनै पूर्णिमाको मेलाको दिन कैलाशमाडौं गा.वि.स.को वडा नं. ३ पैमामा रहेको मन्दिरको देवीको मूर्तिलाई बाजागाजा सहित बडीमालिकाको प्रमुख मन्दिर (जुन १४६०० फिट उचाईमा कैलाशमाडौं गा.वि.स.को वडा नं. ९ मल्लगीरी पर्वतमा रहेको ठाउँमा) लगिने गरिन्छ । मार्तडीमा स्थापना गरेको बडीमालिकाको किम्वदन्ती अनुसार माथि डाँडाको वडा नं. ९ को मल्लगीरी पर्वतमा रहेको मुख्य मन्दिरबाट धोजा उडेर हाल (मार्तडीमा) जि.वि.स. भवन देखि पूर्वपट्टी दक्षिण पूर्व (१० मि.को उकालो डाँडामा) रहेको त्रीखुडाको रुखमा अड्किएकोले सो स्थानमा बडीमालिकाको स्थापना गरिएको हो त्यो धोजा भइदिएको रुख हालसम्म पनि रहेको छ । मानिसहरुले बैशाख, असौज, भाद्र र चैत्र महिनामा यस स्थानको बढी भ्रमण गर्छन । उक्त समयमा यहां करिव १२–१५ हजार जना मानिस भेला हुन्छन । यस स्थलमा बार्षिक सरदर २०,००० मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु नेपाल राज्यका विभिन्न ठाउँबाट आउने गर्दछन् । विशेषगरी यिनीहरु छिमेकी जिल्ला (अछाम, डोटी, डडेल्धुरा) भारतको टनकपुर, चम्फावाद, वरयाली र कुमाउ देखि आउँदछन् । यस स्थलको (मन्दिर) को खास विशेषताहरु मध्ये चैते दशैं, वडा दशैं, कृष्णाष्टमी, जनैपुर्णिमाका दिन बाजा गाजाका साथ पुजा गरिने र दशैंको दिन चोकमा बलि दिने रहेको पाइन्छ । यहाँको प्रमुख पुजामा रातो र सेता कपडा तोरण लगाउने चलन छ । तिमिल्सिना उपाध्याय थरका मानिस मात्रै यहाँको पुजारी  हने चलन छ ।