बागेश्वरी मन्दिर

बागेश्वरी मन्दिर अछाम जिल्लाको नाडा गा.वि.स. वडा नं. ९ बाख्रेकोट टोलमा पर्दछ । स्थानिय बुद्धिजिवीहरुको भनाई अनुसार यसको स्थापना करिब १ हजार वर्ष पहिले भएको हो । यो स्थल अछाम जिल्लाको सदरमुकाम मंगलसेनबाट पूर्व दिशामा पर्दछ । र त्यहाँबाट ४० कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट २ घण्ट ३० मिनेट र पैदल ८ घण्टा समय लाग्दछ । यस स्थलमा पुग्न सडकको बाटोको प्रकृति कच्ची छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो मंगलसेनबाट कमल बजार पूण्यपाटा बागेश्वरी मन्दिर हो । यस स्थानमा आउन सकिने अन्य बैकल्पिक बाटो यस प्रकार छ । सुर्खेतबाट तुर्माखाँद नाडा हुँदै बाखो्रकोटमा रहेको बागेश्वरी मन्दिर पुगिन्छ । त्यस्तै डोटीबाट बलाँता ढुङ्गेचल्ला हुँदै बागेश्वरी मन्दिर पुगिन्छ । मंगलसेनबाट पुन्यपाटोसम्म गाडीमा २ घण्टा र त्यहाँबाट गोरेटो बाटो ३ घण्टा हिडेर मन्दिर पुगिन्छ । यस जिल्लाको सदरमुकाम पुग्ने कैलालि जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हुँदै सेती राजमार्ग सिलगढी मध्यपहाडी राजमार्गबाट यात्रा गर्नु पर्दछ । यो करीब ३०५ कि मी.को दुरी पार गर्न करिब ९/१० घण्टा लाग्दछ । यहाँको मौसम न धेरै गर्मी न धेरै चिसो छ । यो मन्दिर बागेश्वरी देवीको लागि प्रसिद्ध छ । यहाँ दर्शन गरे पछि गाई बाख्रा (पशुपालन) पालन राम्रो हुने विश्वास छ । मनोकांक्षा पुरा हुने भएकोले मानिसहरुको घुइचो हुन्छ । यो स्थान.बाखो्रकोट मेला जात्राको लागि प्रसिद्ध छ । यो जात्रा भाद्र महिनाको शुक्ल चर्तुदर्शी तिथिमा लाग्दछ । यस जात्रामा पुजा अर्चना गर्ने, भैसीको दुध लगेर खिर पकाएर खाने गर्छन् किनभने त्यहाँ पकाएको खिर मिठो हुने विश्वास छ र त्यो प्रसादको रुपमा ल्याउने गरिन्छ । मानिसहरुले भाद्र शुक्ल चतुर्दशी तिथीमा यस मन्दिरको बढी भ्रमण गर्दछन् । उक्त समयमा करिव १० हजार जना मानिस यहाँ भेला हुन्छन् । यस स्थलमा बार्षिक सरदर २० हजार जना मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने भक्तजनहरु विशेषगरी सुर्खेत, दैलेख, डोटी, अछाम देखी आउने गर्दछन् ।