ब्यास मन्दिर

ब्यास मन्दिर दार्चुला जिल्लाको ब्यास नगरपालिका वडा नं. १ छाँगरु टोलमा पर्दछ । स्थानीय बुढापाकाले बताए अनुसार यस मन्दिरको निर्माण सयौं वर्ष अगाडी भएको हो । यो स्थल दार्चुला जिल्लाको सदरमुकाम दार्चुला बजारबाट उत्तर दिशामा पर्दछ र यहाँबाट ७० कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन पैदल मार्गबाट झण्डै ३ दिन लाग्दछ । यस स्थलमा पुग्ने सडक बाटोको प्रकृति धुले छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो लास्को– सिडीबजार–वोकरी गाउँ–सुनसेरा–फिन्चेन–दुम्लिङ–दोवाख्या–कुतिसोङ–गागा–छान्रु–व्यास हो । यस स्थानमा आउन भारतको बाटो हुँदै भारतीय गव्र्याङबाट सितापुल तरेर नेपालको छाँगरुमा पुग्न सकिन्छ । यस जिल्लाको सदरमुकाम पुग्न कैलालि जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हुदै २४ घण्टा लाग्छ । यहाँको मौसम सामान्यतया चिसो छ ।

यो धार्मिक स्थल वेदव्यास देवताको लागि प्रसिद्ध छ । मन्दिरमा दर्शनार्थीको आवत जावत हुने साथै ताल, पाटन जस्ता प्राकृतिक सौन्दर्यताले सबैको मन तान्ने भएकाले पर्यटकीय दृष्टिकोणले पनि यो स्थल प्रसिद्ध छ । यो स्थान छागरु व्यास ऋषि मेला र तिङकर गाउँमा लाग्ने घोडा जात्राको लागि प्रसिद्ध छ । यो जात्रारक्षा वन्धनको दिन साउन महिनाको पूर्णिमाको दिन लाग्दछ । यस जात्रामा जात्राको सुरुवात मै विहान घोडा कुदाउने प्रचलन छ । त्यस पछि झण्डा (दरचो) ठडाएर पुजा गरिन्छ । र धामी झाँक्रीलाई कमाइन्छ । यसरी सुरु भएको जात्रा दिनभर चलिरहन्छ । उक्त समयमा करिव २००–३०० जना मानिस यहां मेला हुन्छन । यस स्थलमा बार्षिक सरदर एक हजार मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु स्थानिय लगायत छिमेकी जिल्लाका विभिन्न स्थानबाट आउँदछन् ।