मालिका मन्दिर

मालिका मन्दिर डोटी जिल्लाको काँडामाण्डौ नगरपालिका वडा नं. ४ को बटालामा अवस्थित छ । जानकार व्यक्तिहरुले उल्लेख गरे अनुसार यो मन्दिर करिब १२३ –१२४ वर्ष पहिले –वि.स (१९५०– ५१) मा स्थापना भएको हो । यो स्थल डोटी जिल्लाको सदरमुकाम सिलगढीबाट पूर्व दिशामा पर्दछ र त्यहाँबाट ३८ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट चौखुट्टेसम्म ३५ कि.मि. पिच बाटो छ यो दूरी पार गर्न गाडीबाट करीव १ घण्टा र त्यहाँबाट गाडी नजाने भएकोले बेगटीगाउँ नृ्नधार हुँदै २ कि.मि. को पैदल हिडेर करीव १ घण्टा जतिमा मन्दिर पुगिन्छ । यस सडक बाटोको प्रकृति सिलगडि देखि चौखुटृेसम्म ३ कि.मी. पिच र त्यहाँबाट २ कि.मी. कच्चि बाटो छ, त्यसकारण यहाँ लोकल गाडी चल्दैन । जिल्लाको सदरमुकामबाट यहाँ आउँदा सिलगढी शान्तिनगर–फुल कोट– खिलापाटा –साजघाट –सानागाउँ– कुडिगड्डा हुँदै चौखुटृे झरेर बेगटीगाउँ नृ्नधार हुँदै ४० – ५० मिनेट पैदल हिडेर यहाँ पुगिन्छ । यस जिल्लाको सरदरमुकाम पुग्न कैलाली जिल्लाको अतरियाबाट स्याउले सम्म महाकाली राजमार्ग र स्याउले देखि सेती राजमार्ग हुँदै सिलगढी साँफेवगर राजमार्ग हुँदै करिब २५५ कि.मि.दुरी पार गर्न गाडीमा ८–९ घण्टा लाग्छ । यहाँको मौसम सामान्यतया चिसो छ । यस स्थानमा आउन सकिने अन्य बैकल्पिक बाटो सिलगढीबाट शान्तिनगर फुलबोट खिलापाटा साजघाट सानागाउँ बाट पुलिस चौकिको तल चौराहा बाट सिमपाटा बटाला गाउँ हुँदै १ घण्टा उकालो हिडेर मन्दिर पुगिन्छ । यस स्थानमा आउन सकिने यो बाहेक अन्य बैकल्पिक बाटो छैन । यो धार्मिक  स्थल महालक्ष्मी देवीको लागि प्रसिद्ध छ । महालक्ष्मीको दायाँ बायाँ महाँ सरस्वती र महाकालीका  मुर्तिहरु  छन् । यस स्थानमा पञ्चरात्रीमा कोटी होम गरिन्छ । धामी झाँक्रीहरु कामेर नाच गर्ने गर्दछन् । मनोकांक्षा पूरा  हुने  विश्वाशले  मानिसहरु  यसको  दर्शन गर्न आउँछन् । खडेरी परेको बेला खडेरीबाट  मुक्त  गर्नको  लागि  पृ्जा  आराधाना  गर्ने चलन र कसैको सामान चोरी भएमा माताको दर्शन गरी  हराएको  सामान  प्राप्त  भएका उदाहरणहरु स्थानीयहरुले दिएको छन् । यहाँ लाग्ने काँडा जात्रा  प्रसिद्ध  जात्रा हो । यो जात्रा कात्तिक महिनाको शुक्ल अष्टमी र नवमी तिथिमा लाग्दछ । यस जात्रामा  बाजा  गाजाको साथ गाँज (छाता जस्तो बस्तु ) नचाउने (घुमाउने लैजाने)र धामीहरु काम्ने गदछन् । यसरी बाजा गाजाको साथ गाँज नचाएर मालिका मन्दिर माथि रहेको संङकट्याल मन्दिरमा लगिन्छ  र  पाँच  दिनसम्म गाँजलाई त्यहि राखिन्छ । र फेरी पाँच दिनपछि मालिका मन्दिरमा फर्काएर ल्याई विधिवत रुपमा जात्राको समापन गरिन्छ । सो समयमा ब्राम्हण पूजारी हरु पाँच दिन सम्म बसेर पँचहोम  गर्ने गर्दछन् । मानिसहरुले प्रत्येक वर्षको कात्तिक, चैत्र र वैशाख महिनामाको शुक्ल अष्टमी र नवमी  तिथिमा  यस  स्थानको  बढी  भ्रमण  गर्दछन् ।  उक्त समयमा करिव १५०० देखि २००० जना मानिसहरु  यहाँ भेला हुन्छन् । यस स्थलमा बार्षिक सरदर २५०० देखि ३००० जना सम्मले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु मालिकामा आस्था राख्नेहरु हुन । यिनीहरु विशेष गरी छिमेकी जिल्लाहरु जस्तै डडेलधुरा, कैलाली ,बाजुरा, डोटी ,अछाम देखि आउने गरेका छन् । यस स्थलको (मन्दिर) को खास विशेषताहरुमा कात्र्तिक शुक्ल अष्टमी र चैत्र दशैमा हुने पुजा, वडा दशै चैत्र अष्टमी दिन हुँने विशेष पुजा र मन्दिरमा काँडाको जात्रा हुने लगायत पञ्चहोम रहेका छन् । यी धर्मकार्य पृ्रा गरेमा मानिसहरुको मनोकाक्षा पूरा हने विश्वास गरिन्छ ।