बझाङ्ग राजाको दरवार

बझाङ्गी राजाको कोट (दरबार), बझाङ्ग जिल्ला, व्यासी गा.वि.स., वडा नं. ५ को व्यासी टोलमा पर्दछ । स्थानिय जानकारहरुले बताए अनुसार यस दरवारको स्थापना बझाङ्गी राजा जय पृथ्वी बहादुर सिंहले गरेको हुन ।यो स्थल बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुरबाट पश्चिम तर्फ २० कि.मि. को दूरीमा रहेको छ । यहाँ आउन गाडीबाट २ घण्टा र पैदल ८ घण्टा समय लाग्दछ । यो सडकको बाटोको प्रकृति पिच र धुले छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो चैनपुर सरदमुकाम, तमैल, भाँडे, व्यासी हुँदै बझाङ्गे राजाको कोट पुगिन्छ । अन्य बैकल्पिक बाटोको रुपमा चैनपुर सदरमुकामको नौरा, जय पृथ्वीनगर, कडेल, पाटा गाउँ, बान्नी चौरी हुँदै बझाङ्गे राजाको कोट पुगिन्छ । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हुदै १५ घण्टा लाग्छ । यहाँको मौसम सामान्यतया चिसो छ । यो पुरातात्विक स्थल (कालिका र भैरव) काला ढुङ्गा देवी देवताको लागि समेत प्रसिद्ध छ । यहाँ बझाङ्गको राजा बस्ने दरबार र माताकाली भैरव स्थान र काला ढुङ्गाको शक्ति रहेको छ । यो स्थान चैत अष्टमी, कृष्ण अष्टमी र असोजको अष्टमी जात्राको लागि प्रसिद्ध छ । यी जात्रा मध्ये असोजमा घटस्थापनाको दिन जमरा हाल्ने र नवमीसम्म पुजा आजा हुने गर्दछ । दशमीको दिन १००० बोका, ५०० राँगा र ३०० सुंगुरको बलि दिने चलन छ । यस दिन छिमेकी जिल्लाका साथै अन्य जिल्लाका मानिसहरु राजाको हातबाट टिका र जमारा थाप्न आउने चलन पुर्खा देखि नै चलि आएको छ । बझाङ्गी राजाको दरबारको जमरा मानिसहरुलाई वितरण गरे पछि मात्र घर घरमा टिका र जमारा थाप्ने चलन छ । उक्त समयमा करिव १००० जना मानिस भेला हुन्छन भने वार्षिक सरदर ८००० जना मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु कञ्चनपुर, डोटी, बाजुरा, बैतडी लगायतका अन्य जिल्लाबाट पनि आउँदछन् । यस स्थल (मन्दिर) को खास विशेषता बझाङ्गी राजाको दरबार, भैरव कालिका मन्दिर र प्राकृतिक सौन्दयता हुन ।