शैलेश्वरी मन्दिर

शैलेश्वरी मन्दिर डोटी जिल्ला सिलगढी दिपायल नगरपालिका वडा नं. १ शैलेश्वरीमा अवस्थित छ । स्थानियहरुले भने अनुसार यो मन्दिर करिव ५०० – ६०० वर्ष पहिले स्थापना भएको हो । यो स्थल डोटी जिल्लाको सदरमुकाम सिलगढीमा रहेको छ । यस जिल्लाको सदरमुकाममा पुग्न कैलाली जिल्लाको अत्तरियाबाट महाकाली राजमार्ग र स्याउले देखि सेती राजमार्ग हुदै ६–७ घण्टा लाग्दछ । यस सडकको लम्बाई १९५ कि.मी. रहेको छ । यहाँको मौसम सामान्यतया चिसो छ । यो धार्मिक स्थल भगवान शिवको लागि प्रसिद्ध छ । यस मन्दिर भित्र ६ इन्च अग्लो र १ फूट गोलाई भएको शिवजीको कालो शिला छ । यस मुर्तिलाई शिव र पार्वतीको संयुक्त स्वरुप मानेर पुजिन्छ । शैलेश्वरी मन्दिर पछाडी चण्डेश्वरी भैरव रहेका छन् ।

यहाँ बैदिक र तान्त्रिक दुवै विधिबाट पुजा गरिन्छ । परिवारको सुख शान्तिको लागि चण्डेश्वरीमा बली दिने गरिन्छ । यो मन्दिर खट जात्राको लागि प्रसिद्ध छ । स्थानीय भाषामा यसलाई जात पर्व भनिन्छ । यो जात्रा प्रत्येक १२ वर्षमा कात्र्तिक महिनाको पूर्णिमा तिथिमा लाग्दछ । यस जात्रामा कृष्ण अष्टमीको दिन स्यानीय १२ गाँउहरु मिलेर १२ ÷ १२ वर्षमा १२ दिन विषेश पुजा गरी शिलादेवीको मुर्ति राखेर खटजात्रा गरी घुमाउदै मन्दिर परिक्रमा गरिन्छ । दौरो (मन्दिरको गरगहना) लाई नाचतथलीसम्म घुमाउने, धामी झाक्री काम्ने, आगामी वर्षको भविष्य बाणी गर्ने, रात भरी उपबास बस्ने नाच गान गर्ने गर्दछन् । यस मन्दिर परिसरमा खटजात्राको समयमा होम गरिन्छ । हरेक १२÷१२ वर्षमा कर्कट राशीमा वृहस्पति भएको पञ्चमी देखी द्धादसीसम्मको समयमा कोटी होम गरिन्छ । मानिसहरुले प्रत्येक वर्षको दशैंको नवरात्री र कार्तिक महिनमा लाग्ने १२ वर्षे मेलामा यस ठाउँको बढी भ्रमण गर्दछन् । यहाँ सामान्यतया करिव ३०– ३५ हजार सम्म मानिस जम्मा हुन्छन् । तर १२ वर्षे मेलामा सरदर २५,०००० मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु देश भरि बाटै आउने गरेका छन । विशेष गरी भक्तजनहरु डडेलधरा, कञ्चपुर, अछाम, बाजुरा र पूर्वाञ्चल विकास क्षेत्रका इलाम झापा भोजपुर स्थानबाट आउँदछन् । यस स्थलको (मन्दिर) को खास विशेषताहरु मध्ये खट जात्रा हुने (स्थानीय लवतमा जाँत पर्व भनिने), १२ बर्षे मेला हो ।