रामारोशन क्षेत्र

रामारोशन क्षेत्र मूलत अछाम जिल्लामा रहेता पनि यसले ३ वटा जिल्ला छोएको छ । यसको पूर्वमा कालीकोटको रुप्सा, पश्चिममा अछाम जिल्लाको भाटाकाटीया, उत्तरमा बाजुरा जिल्लाको चाकाडाँडा र दक्षिणमा अछाम जिल्ला रामारोशन गा. वि.स.को अल्लेडी क्षेत्र रहेको छ । सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगत अछाम जिल्लाको पूर्वी उत्तरमा ५२ कि.मी. टाढा पर्ने रामारोसन क्षेत्र रामाशेसन गा.वि.स.को माथिल्लो भागमा समुन्द्री सतहबाट २५४६ मिटर उचाईमा अवस्थित प्रकृतिक वरदानको रुपमा रहेको छ । मंगलसेनबाट यहाँ आउन गाडीबाट ५–६ घण्टा लाग्दछ । यहाँसम्म पुग्न ५२ कि.मि. दुरी पार गर्नु पर्दछ र पैदल हिडेमा करिव १५–२० घण्टा समय लाग्दछ । यस स्थलसम्म पुग्ने सडक बाटोको प्रकृति मंगलसेनबाट शून्य विन्दु (0 Point ) सम्म करिव ८ कि.मी. पिच बाटो छ र त्यहाँबाट रामारोशन क्षेत्रसम्म करिव ४४ कि.मी. कच्ची बाटो छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो मंगलशेनबाट कैलाश खोला पुलसम्म (४ कि. मी.) अगाडी उकालो (सल्लाघारी), त्यस पछि कच्ची बाटो सुरु भई सुंगाली, दर्ना, फेरी कैलाशखोला (पुल नभएको खोलाबाट गाडी पारी जाने) र गजड बजार, मुगा बजार, सैनी बजार नेताकोट हुँदै रामारोशन क्षेत्र पुगिन्छ । यस स्थानमा आउन सकिने अन्य बेकल्पिक बाटोमा मंगलसेन देखि मुगाबजार सम्म पिच मोटर बाटो छ । त्यहा सम्म मात्र भाडाको गाडी चल्छ । त्यस पछि रिजर्भ गाडी मात्र चल्दछन् । मुगाबजारबाट पैदल मार्गको रुपमा मुगाबजार नेताकोटको स्कुल जंगलको बाटो करीब ३(४ घण्टा हिडेर रामारोशन क्षेत्र पुगिन्छ । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अत्तरियाबाट महाकाली र सेती राजमार्ग हुँदै १०–११ घण्टा लाग्छ । यहाँको मौसम चिसो छ । यो स्थल मुलत पर्यटकीय भ्रमणको लागि प्रसिद्ध छ । यहाँ १२ ताल र १८ पाटनहरु रहेका छन् । यो प्राकृतिक सुन्दरताले भरिपुर्ण रहेको छ । यहाँका रहरलाग्दा जमिनका फाँटहरु, मनमोहक तालहरु, ठूलाठूला ढूङ्गाहरु, गुफाहरु, विभिन्न खालका जडिबुटीहरु, अनेकथरिको फुलहरु, तालमा पौडिरहेको जलहाँसहरु, राष्ट्रिय पंक्षि डाँफे, मुनाल, विभिन्न जातका चराचुरेङ्गीहरु र अन्य दुर्लभ वन्य जन्तुहरु कस्तुरी, मृग तथा अन्य विभिन्न जनावरहरुको उपस्थिति नै यस जिल्लाको पर्यटन आर्कषणको मुख्य वस्तुहरु हुन् । यहाँ कुनै जात्रा लाग्दैन । तर प्रत्येक वर्ष रामारोशन महोत्सव हुने गर्दछ । र यसमा गन्यमान्य व्यक्तिहरु, अतिथि आउँने गर्दछन् । यहाँ नाचगान लगायतका साँस्कृतिक कार्यक्रमहरु गरिन्छ । उक्त समयमा करिव ८–१० हजार जना मानिस जम्मा हुन्छन । ती भ्रमण गर्ने मानिसहरु नेपालका विभिन्न जिल्लाबाट र विदेशी पर्यटकहरु समेत हुन्छन् । जंगलमा फुल्ने विभिन्न किसिमका फूलहरु, विभिन्न किसिमका जंगली जनावरहरु, कैलाश खोला वगेको सुमधुर आवाज र यहाँबाट भालु तथा बाँदरहरु देख्न सकिने भएकोले यो क्षेत्र मनोरम छ ।